२०८१ बैशाख ८ , शनिवार

‘हल्क’ बन्नका लागि लगाउँथे खतरनाक इन्जेक्सन, जन्मदिनमा भयो मृत्यु

सुनाखरी न्युज / काठमाडौँ- जिममा पसिना बगाएर बडी बनाउनु आजकाल फेसन बनिसकेको छ । तपाईंले यस्ता धेरै मानिसहरुलाई देख्नुभएको होला जसले मसल्स र बाइसेप्स बनाउनका लागि जिम धाउने गरेका छन् । यतै केही यस्ता मानिसहरुका पनि छन् जसले छिटो नतिजा पाउनका लागि विभिन्न प्रकारका चिज प्रयोग गर्छन् जस्तै स्टेरोइड, इन्जेक्सन आदि । यस्तै, एउटा घटना हालै सार्वजनिक भएको छ जसमा ब्राजिलका एक बडीबिल्डर र टिकटक स्टार वाल्दिर सोगातोले मसल्स बढाउन यस्तो काम गरे जसका कारण उनको मृत्यु भयो ।

 

‘हल्क’ को नामबाट परिचित यी ब्राजिलियन व्यक्तिले २३ इन्चको बाइसेप्स बनाउनका लागि आफूलाई एक खतरनाक तेलको इन्जेक्सन लगाए जसका कारण रिबेराओ प्रेटोमा ५५ औँ जन्मदिनमा उनको मृत्यु भयो । स्ट्रोक र संक्रमणको खतरा हुँदासमेत बाइसेप्स र ब्याक मसल्स बढाउनका लागि वाल्दिर सेगातो निकै लामो समयदेखि सिन्थोल इन्जेक्सको प्रयोग गरिरहेका थिए । डेली मेलका अनुसार वाल्दिरले सन् २०१६ मा भनेका थिए, ‘मानिसहरुले मलाई धेरैजसो श्वार्जनेर, हल्क र ही–म्यानको नामले बोलाउँछन् र मलाई यो सुन्दा असाध्यै राम्रो लाग्छ । मैले आफ्नो बाइसेप्सलाई डबल बनाएको छु तर म अझै पनि मेरो बाइसेप्स ठूलो होस् भन्ने चाहन्छु ।’

 

 

६ वर्ष अघि वाल्दिरलाई डाक्टरले उनको बानीका लागि चेतावनी पनि दिएका थिए । बडी बनाउनका लागि इन्जेक्सनको प्रयोग गर्दा स्नायुमा क्षती हुनुका साथै थुप्रै घातक समस्या झेल्नुपर्छ है भनेर डाक्टरले उनलाई सचेतसमेत गराएका थिए । तरपनि उनले ती चेतावनी वास्ता गरेनन् र मसल्स बढाउनका लागि लगातार इन्जेक्सन प्रयोग गरिरहे । लगातार इन्जेक्सन लगाएपछि वाल्दिरको मसल्स २३ इन्चको भयो । त्यसपछि उनलाई मानिसहरुले ‘द मोन्स्टर’ को नामले बोलाउन थाले । यसमा आफूलाई असाध्यै गर्व लागेको पनि उनी बताउने गर्दथे । वाल्दिर सोसल मिडियामा आफ्नो बडी ट्रान्सफर्मेशनका थुप्रै फोटो र भिडियो सेयर गर्ने गर्दथे साथै उनी आफूलाई ‘वाल्दिर सिन्थोल’ नामले चिनाउँथे ।

वाल्दिरको टिकटकमा १.७ मिलियन फलोअर्स थिए । वाल्दिरका छिमेकीले बताए अनुसार उनका निकै कम साथी र आफन्त थिए । दा सिल्भा नामका एक व्यक्तिले ब्राजिलको ग्लोबो न्युजलाई दिएको जानकारी अनुसार वाल्दिरले आफ्नो परिवारको घरको पछाडि बनेको एउटा घर भाडामा लिएका थिए र उनी त्यहाँ नै बस्ने गर्दथे । एक स्थानीय व्यक्तिले दिएको जानकारी अनुसार मृत्यु हुने दिन उनलाई सास फेर्न समस्या भइरहेको थियो जसका कारण उनले मद्दतका लागि आमालाई बोलाएका थिए ।

 

 

के हो सिन्थोल ?

युरोप पबमेड सेन्ट्रलका अनुसार सिन्थोलमा साधारणतया तेल, बेन्जिल अल्कोहल र लिडोकेनको मिश्रण हुन्छ । यसका कारण स्नायुमा क्षती, हृदयघात, स्ट्रोक, संक्रमणको खतरा अत्यधिक बढ्ने गर्छ ।एजेन्सी