२०८० चैत्र १५ , बिहिवार

थाइल्यान्डको राजधानी बैंककमा आयोजित “नेपाल सेल्स मिशन २०२२” भब्यरुपमा सम्पन्न

सुनाखरी न्युज / काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरद्वारा बैंकक स्थित रेम्ब्रान्ड होटलमा आयोजित “नेपाल सेल्स मिशन २०२२” मा नेपालका ११ बिक्रेता पर्यटन व्यवसायिक कम्पनीहरु र थाइल्याण्डका ४५ भन्दा बढी टुर अपरेटरहरु लगायत करीब ८० जना सरोकारवालाहरुको सहभागीतासहित ‘बीटुबी सत्र’, औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्शन भव्यताका साथ सम्पन्न भएको छ।

 

पाटा नेपाल च्याप्टरले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्याण्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस ग्रुप थाइल्याण्ड, नेपाली उद्योग परिसंघ र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज सँगको सहकार्यमा महामारी पश्चात् पर्यटन पुनस्र्त्थान अभियान अन्तर्गत बिदेशी स्रोतबजारमा गएर पहिलो पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको हो। पाटा नेपाल च्याप्टरका पदाधिकारी र सदस्यहरुसहित २० जना पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगस्ट २ देखि ४ गतेसम्म थाइल्याण्डको सोङखलामा आयोजना हुने छैठौं पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएका छन।

 

पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले कार्यक्रममा स्वागत मन्तव्य राख्दै विश्वव्यापी महामारीले सिर्जना गरेको कठिनाइलाई पार गर्न र दुई मित्र राष्ट्र नेपाल र थाइल्याण्डबीचको पर्यटन आदानप्रदानलाई प्रवर्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालाहरुलाई पर्यटन क्षेत्रको पुनरुत्थान तथा दिगो बिकासका लागि हातेमालो गरेर अगाडी बढ्न आग्रह गर्नुभयो । उनले बैंककमा आयाजित नेपाल सेल्स मिशन नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको दिगो पर्यटन विकासका लागि नयाँ बाटो र अवसरहरूको प्रवर्द्धन गर्दै महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग पुर्‍याउन समयसापेक्ष र फलदायी पहल भएको विश्वास व्यक्त गरे।

 

त्यसैगरी, पाटा थाइल्याण्ड च्याप्टरकी अध्यक्ष सुश्री बेन मोन्टगोमेरीले स्वागत मन्तव्य राख्दै नेपालको पर्यटन पुनरुत्थान पहलका लागि आफ्नो र शुभकामना व्यक्त गर्नुभयो। सीएनआईका महानिर्देशक दीपकराज जोशीले नेपाल गन्तब्य बारे मुख्य वक्ताको रूपमा बोल्दै नवीनतम अद्यावधिकहरू र जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यको रूपमा नेपालको आकर्षणहरुका बारेमा बिस्तृत जानकारी प्रश्तुत गर्नुभयो। वहाँले थाई ट्राभल एजेन्टहरूले नेपालसँग जोडिएर कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा समेत आफ्ना विज्ञ विचारहरु प्रश्तुत गर्नुभयो।

 

थाई ट्राभल एजेन्ट्स एसोसिएसनका उपाध्यक्ष शिवेक सचदेवले नेपालको दिगो र वातावरण मैत्री पहलको प्रशंसा गर्दै आफ्नो थाई पर्यटन समुदायलाई नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्न आग्रह गर्नुभयो। त्यसैगरी,थाइल्याण्डमा नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर श्री होमप्रसाद पराजुलीले सहज जडान, राष्ट्रिय ध्वजावाहकको प्रवर्द्धन भाडा र थाई एजेन्टहरूलाई विशेष सुविधाको बारेमा जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाण्डेले भगवान बुद्धको अकथित यात्रा र भगवानको जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन विकास र पर्यटकीय उत्पादन वा गतिविधिको सम्भावनालाई प्रकाश पार्दै “थाइल्याण्ड-नेपाललाई बौद्ध पर्यटनको माध्यमबाट जोड्ने” बारे प्रस्तुत गर्नुभएको थियो।

 

कार्यक्रममा विशेष अतिथी एवं वक्ताको रुपमा बोल्दै पाटा अन्तर्राष्ट्रियकी सिईओ लिज ओर्टिगेराले पाटाको विश्व समुदायको इतिहास र महत्वबारे प्रकाश पार्दै पाटा च्याप्टरहरु बीचको सहकार्य तथा समन्वय मार्फत नेपालको पर्यटन प्रवर्धनमा पाटा नेपाल च्याप्टरको उच्च सक्रियताको प्रशंशा गर्नुभयो। पाटा सिईओ लिजले महामारीपछिको पर्यटन प्रवर्द्धनका लागि आफु पहिलो पटक भौतिकरुपमा सहभागिता गर्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल लगायत विश्वभरका पाटा सदस्य संस्थाहरू तथा गन्तव्यहरूको पर्यटन पुनरुत्थान एवं प्रवर्धनमा पाटाले आफ्नो स्रोत र विशेषज्ञता उपलब्ध गराउने र सहयोगमा जोड दिने बताउनु भयो।

 

कार्यक्रमका प्रमुख अतिथि, थाइल्याण्डका लागि नेपालका महामहिम राजदूत गणेशप्रसाद ढकाल ज्यूले नेपालको पर्यटनका आकर्षणका बारेमा प्रकाश पार्दै थाई ट्राभल एजेन्टस तथा आगन्तुकहरूलाई सहज भिसा सेवा, नेपाल भ्रमणको सम्बन्धमा जानकारी तथा अन्य आवस्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्ने बताउनु आश्वासन प्रदान गर्नुका साथै उपस्थित सहभागीहरुलाई पर्यटन प्रवर्धनका लागि प्रोत्साहित समेत गर्नुभयो। पाटा नेपालका कार्यसमिति सदस्य नरेन्द्र देव भट्टले आफ्नो समापन मन्तव्य राख्दै सबै सहयोगी संस्थाहरू लगायत नेपाल र थाइल्याण्डबाट उपस्थित अतिथि तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।