२०८२ चैत्र १ , आइतवार

बाढीले बगाएर एकको मृत्यु,एक बेपत्ता

सुनाखरी न्युज/ काठमाडौं- कपिलवस्तुको वाणगंगास्थित कोइली नदीमा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

 

सोमबारदेखि नै परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले दुई जनालाई बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परे पनि एक जना भने बेपत्ता रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मंगलबार बिहान वाणगंगा नगरपालिका वडा नं. ९ को बर्गदवा भन्ने स्थानमा कोइली नदीले वाणगंगा ७ निवासी वीर बहादुर सुनार, उनकी श्रीमती लक्ष्मी सुनार र निजहरूको छोरा निरज सुनारलाई बगाएको थियो।

 

इलाका प्रहरी कार्यालय पिपराका अनुसार निरजलाई स्थानीयले खोलाबाट सकुशल उद्धार गरे पनि वीरबहादुर र लक्ष्मीलाई बगाएको थियो। १२ वर्षीय निरजलाई नदीमा आएको बाढीको छालले किनारमा उछिट्याएको र उनलाई देखेपछि स्थानीयले उद्धार गरेका थिए। लक्ष्मीको शव बगेको ठाउँभन्दा एक किलोमिटर अगाडि भेटिए पनि वीरबहादुर भने बेपत्ता छन्। मंगलबार बिहानै जंगलमा निउरो टिप्न गएका उनीहरू घर फर्किने क्रममा खोला तर्दा बाढीले बगाएको थियो।

 

अहिले इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा र इलाका प्रशासन कार्यालय वाणगंगाको एक विशेष टोलीले नदीमा हराएका वीर बहादुरलाई खोजी कार्य जारी राखेको जनाएको छ। वाणगंगा नगरपालिका वडा नं. ७ र ९ जोड्ने उक्त स्थानमा २०३९ सालदेखि स्थानीयले पुलको माग गर्दै आएका छन्।
पुल नहुँदा हरेक वर्ष खोला वारिपारि गर्दा मानिसहरूको ज्यान जाने गरेको छ।