२०८१ बैशाख ६ , बिहिवार

बाढीपहिरो र प्राकृतिक विपद्का कारण बस्ती रित्तिँदै

सुनाखरी न्युज/ काठमाडौं –

जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको बेनी नगरपालिका–३ तोराखेतको बस्ती पनि अहिले सुनसान छ।

 

केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ। उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि उस्तै छ। गाउँको पुछारमा भीषण पहिरो छ। शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका पनि पानी पर्दा रातभर जाग्राम गर्न बाध्य छन्।

 

र घुगंगा गाउँपालिकाका आठ वडामा साना–ठूला गरी २१६ पहिरो रहेको र ती पहिरोका कारण बस्ती नै जोखिममा छन्। पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए। गाउँपालिकाको कुइनेमङ्ले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले बताए।

 

यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धूपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बूडिचौरलगायतका बस्ती बाढी पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए। यस्तै रघुगंगा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोको जोखिममा छ।  गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापबाहीले निम्तिएको पहिरोले बस्ती पुरिने जोखिम बढेको हो।

 

बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वरपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीयवासी धर्म रोकाले बताए। त्यसैगरी बेनी नगरपालिका– ३ को तोराखेत गाउँ पनि पहिरोका कारणले रित्तिएको छ। एक दशक अघिसम्म ७० घरपरिवारको बसोबास रहेको तोराखेतमा अहिले १० घर परिवारको मात्र बसोबास रहेको छ। विसं २०६० देखि तोराखेतमा पहिरो चल्न सुरु भएको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताए।पहिरोकै कारण तोराखेतबाट विस्थापित भई बगरफाँटमा बस्दै आएका सापकोटाका अनुसार त्यसपछि लगातार रुपमा पहिरो चल्दै आएकोले तोराखेतका बासिन्दा भकुण्डे, फाँपरखेत र बगरफाँटमा बसाइँ सरेका छन्।

 

पहिरोले त्रासकाबीच पनि आफू गाउँमै बस्न बाध्य रहेको स्थानीयवासी कुन्दा परियारले बताइन्। ‘पहिले गाउँमा धेरै घर थिए, मान्छेहरु पनि धेरै नै बस्ने गर्थे, पहिरोका कारण धेरैको धन सम्पत्ति नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ’, परियार भनिन्। बस्ती माथिबाट बिना इञ्जिनीयरिङ खनिएको सडकका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको स्थानीयवासीको भनाइ छ । रासस