२०८१ बैशाख ४ , मंगलबार

२० लाख रूपैयाँ नगद सहित लुटपाट

सुनाखरी न्युज /पाल्पा –

तानसेन नगरपालिका-५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्याल बिसौना-थोर्गा-पानीट्याङ्की सडकका ठेकेदार ३६ वर्षीय सुमन पन्थ समेत २ जनाको साथबाट नगद २० लाख रूपैयाँ गएराति लुटपाट भएको छ ।

 

पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र.३ ०१-०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित ३ जना तानसेन नगरपालिका-५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झरेकोमा पन्थ समेत २ जनालाई अन्दाजी ७/८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएको बताइएको छ ।

 

कुटपिटबाट घाइते भएका पन्थ समेत २ जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।