२०८० चैत्र १५ , बिहिवार

आयल निगमले सरकारलाई दियो तेल खपत घटाउने योजना, के के छ निगमले दिएको योजनामा ?

सुनाखरी न्युज/ काठमाडौं ।

 

मोटरसाइकललाई पाँच लिटर र कारलाई २० लिटर पेट्रोल कोटा, सवारी साधनमा जोरबिजोर प्रणाली-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृहमन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउन बिक्रीमा कोटा तोक्न सुझाव दिएको हो।

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र काररजीप लगायत साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन दिन प्रस्ताव गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि निगमको मासिक नोक्सानीनै १० अर्ब माथि पुगेपछि खपत घटाउने विकल्प निगमले अघि सारेको हो। स्रोतका अनुसार सरकारी योजना अनुसारनै निगमले यो प्रस्ताव अघि सारेको हो।

‘पेट्रोलियम पदार्थको बढ्दो मूल्यले निगमको नोक्सानी मात्रै बढेको छैन। विदेशी सञ्चितिमा समेत प्रभाव पारेको छ। त्यसैले खपत घटाउने योजना अघि बढाउन लागिएको हो,’ निगमका एक अधिकारीले भने ।

निगमले योबाहेक खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।