२०८० चैत्र १६ , शुक्रवार

पोखरा स्पोर्टसस् अवार्डको तयारी पुरा, ट्रफी ससार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको जनाएको हो ।

 

पत्रकार सम्मेलन मार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले ट्रफी सार्वजनिक गरेका थिए । अवार्ड समारोह यहीं असार १८ गते दिउँसो ठिक ३ बजेदेखि पोखरा सभागृह हलमा हुँदैछ । स्पोर्टस् अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाई छ ।

 

वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचिमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण हुनेछ । लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ ।

 

पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ ।

 

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ ।

 

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वाँनिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहनेछ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा १७ घारिपाटनमा रहेको आभ्या क्लबमा भएको पत्रकार सम्मेलन तथा ट्रफी सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत र महासचिव राजाराम पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।