२०८१ बैशाख ७ , शुक्रवार

चाबहिलका मालपोत प्रमुखविरुद्ध अख्तियारमा उजुरी

सुनाखरी न्युज/ काठमाडौं । कागजात किर्ते गरेको अभियोगमा मालपोत कार्यालय चाबहिलका प्रमुख तथा मुद्दा शाखामा कार्यरत नायब सुब्वाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

मालपोत कार्यालय चाबहिलका प्रमुख हिमालयजीबी उपाध्याय र मुद्दा शाखाका नायब सुब्बा चित्र खतिवडा विरुद्ध शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी दर्ता भएको हो । उजुरीकर्ताका अनुसार मालपोत प्रमुख उपाध्याय र खतिवडा मिलेर किर्ते कागजात तयार गरी सेवाग्राहीलाई पीडा दिएको र कर्मचारीले घुसबापत रकमसमेत माग गरेको आरोप लगाइएको छ ।

जग्गाधनी ठूलीमाया ठकुरीले बुढानीलकण्ठ नगरपालिका–५ (साविक विष्णु गाविस ८ घ) को कित्ता नम्बर २४८ को २ रोपनी ५ आना जग्गामध्ये १ रोपनी ८ आना जग्गा बिक्री गर्न २०७८ साल माघ महिनामा मालपोत कार्यालयमा निवेदन दिएकी थिइन् । निवेदकको माग बमोजिम मालपोत कार्यालय चाबहिलले कित्ताकाट गर्ने आदेश दियो तर मालपोत प्रमुख उपाध्यायले कित्ताकाट गर्न दिएको आदेश विरुद्ध केही दिन नबित्दै जग्गा कित्ताकाट बदर गर्न नापी कार्यालयलाई पत्राचार गर्‍यो ।

मालपोत प्रमुख उपाध्यायले आफूले कित्ताकाट गर्न भनेर नापी कार्यालयमा पठाएको जग्गा बिक्री वितरण रोक्का गर्न ‘महानगरीय प्रहरी वृत्त अपराध अनुसन्धान तथा कारबाही शाखाको चलानी नम्बर ५०८८ मिति २०७८ असोज १७ गतेको पत्रबाट कित्तानम्बर २४८ रोक्का’ भनेर मालपोत कार्यालयको मोठमा रहेको लालपूर्जामा रातोमसीले लेखिदिए। यसरी मोठमा रहेको सरकारी कागजातमा लेख्नुको आधार केही देखिँदैन ।

 

पीडितले मोठको कागजमा उल्लेख गरिएको महाराजगञ्ज प्रहरीवृत्तले पठाएको पत्र हामीलाई देखाउनुहोस्, पत्र हराएको भए मालपोत कार्यालयमा कहिले दर्ता गरिएको छ त्यो देखाउनुहोस् भन्दा खोजेको वहाना गरे पनि निज उपाध्यायले दुवै काम गर्न सक्नुभएन । पीडितले मालपोत कार्यालयमा कागज हेर्न नपाएपछि महानगरीय प्रहरीवृत्त महाराजगञ्ज गई पत्रका बारेमा खोजी गरे । प्रहरी कार्यालयमा उल्लिखित मितिमा मालपोत कार्यालयलाई कुनै पत्र नपठाइएको जानकारी प्राप्त भयो । त्यहाँ उल्लेख गरिएको चलानी नम्बर भएको कुनै पत्र पनि भेटिएन । प्रहरी वृत्तका प्रहरी नायब निरीक्षक हरि भट्टले ‘उल्लिखित मिति र चलानी नम्बर भएको कुनै पत्र नगएको र त्यसो गरिएको होभने त्यो किर्ते कागजात हुनेभएकाले थप अनुसन्धान गर्नेछौं’ भन्नुभयो ।

 

यसपछि पीडित मालपोत कार्यालयमा गई के कति कारणले रोक्का राखिएको हो भनी सोध्दा त्यहाँका एक कर्मचारीले हातको इसारा मार्फत २० लाख रुपैयाँ घुस माग्दै काम हुने आश्वासन दिए । कार्मचारीले आश्वासन दिइरहँदा पीडितले घुस मागेको भिडियो बनाइसकेका थिए । उनले भिडियो बनाएको थाहा पाएपछि त्यसलाई मेट्ने सर्तमा मात्र कर्मचारीहरू जग्गा कित्ता काट गरी नामसारी गरिदिन तयार भए । कित्ता काट गरिएपछि जग्गाधनीको परिवारका एक सदस्य बुहारी सविता कार्की ठकुरीले आफ्नो अंश हकदाबी गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिन् । उनले ससुरा बमबहादुर ठकुरी सासु ठूलीमैया ठकुरी, नन्द प्रतीक्षा ठकुरी, जेठाजु नवीन ठकुरी, राजु ठकुरी र सुरेन्द्र ठकुरीसमेतलाई विपक्षी बनाएकी थिइन् । काठमाडौं जिल्ला अदालतले २०७८ चैत २५ गते शुक्रबार विपक्षी बमबहादुर ठकुरी, ठूलीमैया ठकुरी, प्रतीक्षा ठकुरी, नवीन ठकुरी, राजु ठकुरी र सुरेन्द्र ठकुरीसँग निवेदक सविता कार्की ठकुरीलाई बोलाएर मिलापत्र गराइदियो ।

 

सोही मिलापत्रबमोजिम दाखिलखारेज गरिदिन मालपोत कार्यालय चावहिलमा सविता कार्की ठकुरीले निवेदन दिइन् । ठकुरीले मालपोत कार्यालयमा निवेदन दिएपछि मालपोत प्रमुखले २०७९ वैशाख ११ गते महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई उल्लिखित जग्गा ‘रोक्का गर्नुपर्ने कि नपर्ने’ भन्दै पत्रचार गरे । यससम्बन्धमा मालपोत प्रमुख उपाध्यायसँग सम्पर्क गर्दा प्रहरी कार्यालयमा पठाइएको पत्र र मालपोतको मोठमा लेखिएको प्रसङ्गबारे सोध्दा आफूलाई आधिकारिक कार्यालयले पत्राचार गरे मात्र जवाफ दिने बताउनुभयो । साथै अंशवण्डा गर्न किन रोक्नुभएको हो त भनेर सोध्दा उनले ‘प्रहरीले मालपोत कार्यालयलाई पत्रको जवाफ नदिएको हुँदा रोकिएको’ पनि बताए ।

 

पीडितहरूले यससम्बन्धमा प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी निरीक्षक सुरेन्द्र तामाङसँग सोधेर मालपोत कार्यालयले पठाएको पत्रको जवाफ पठाइदिन अनुरोध गर्दा मालपोत कार्यालयले हामीलाई पठाएको पत्र हामीसँग सम्बन्धित नभएकाले आवश्यक परेको खण्डमा सरकारी वकिलको कार्यालयलाई मात्र जवाफ पठाउन जानकारी दिए ।मालपोत प्रमुखले सेवाग्राहीलाई दु:ख दिने नियतले जग्गासँग कुनै सम्बन्ध नै नभएको पत्र उल्लेख गरी प्रहरीलाई पत्राचार गरेको पीडितले बताए । सेवाग्राहीले घुसबापत मागेको रकम नदिएपछि प्रमुख उपाध्याय र मुद्दा शाखाका खतिवडाले यो प्रपञ्च रचेको उनीहरुको दाबी छ । स्रोत : ins news