२०८० चैत्र १६ , शुक्रवार

न्यून वातावरणीय क्षति हुनेगरी विमानस्थल निर्माण गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं । सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुनेगरी र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) गराएर मात्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको छ । विमानस्थल निर्माण गर्ने स्थानबारे नबोलेको फैसलामा फरक राय दिने दुई न्यायाधीश हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने बताउनुभएको छ ।

 

तर, तीन जना न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतले भने ठाउँको बारेमा केही बोलेका छैनन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणविरुद्ध परेको मुद्दाको फैसलाको बुधबार पूर्णपाठ सार्वजनिक गरेको हो । बहुमतको फैसला कार्यान्वयन हुनेछ ।

 

न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्मा संलग्न पाँच सदस्यीय बृहत् पूर्ण इजलासले गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी मुद्दाको फैसला सर्वोच्चले सार्वजनिक गरेको हो । सर्वोच्च अदालतले यसअघि उक्त मुद्दामा सुनुवाइ गरेर तत्कालका लागि रोक लगाउन भनेपनि पूर्णपाठ वा कुनै लिखित आदेश भने जारी गरेको थिएन । जेठ १२ गते फैसला सुनाएको थियो तर लिखितमा कुनै आदेश जारी गरिएको थिएन ।