२०८० चैत्र १६ , शुक्रवार

१०१ वर्ष उमेर पुगेका पूर्व नाजी गार्डलाई पाँच वर्ष जेल सजाए

सुनाखरी न्युज/ काठमाडौं –

एक जर्मन अदालतले १०१ वर्षीय पूर्व नाजी यातना शिविरका गार्डलाई पाँच वर्षको जेल सजाय सुनाएको छ । ती व्यक्ति होलोकास्ट(दोस्रो विश्वयुद्धको समयमा नाजीले मच्चाएको नरसंहार जसमा विशेषत यहुदीहरुलाई छानीछानी मारिएको थियो)को समयमा युद्ध अपराधमा संलग्नताको लागि मुद्दा चलाइने सबैभन्दा वृद्ध व्यक्ति भएका छन् ।

 

सन् १९४२ र १९४५ को बीचमा बर्लिनको उत्तरी भाग ओरानिनबर्गमा रहेको साचसेनहाउसेन क्याम्पमा जेल गार्डको रूपमा काम गर्दा जोसेफ शुएजले हत्यामा सघाएको आरोपमा दोषी ठहर गरिएको हो । अहिले ब्रान्डेनबर्ग राज्यमा बस्दै आएका शुयजले आफू निर्दोष भएको दावी गरेका थिए । उनले आफू गार्ड रहेको शिविरमा हुने गरेको घृणित अपराधको बारेमा थाहा नभएको तर्क दिएका थिए । ‘मलाई यहाँ किन उभ्याइएको छ मैले बुझिरहेको छैन,’ उनले सोमबार आफ्नो मुद्दाको अन्त्यमा भने ।

 

तर अभियोजकहरूले भने उनले ‘जानेर र स्वेच्छाले’ शिविरभित्रका ३५१८ कैदीको हत्यामा भाग लिएको बताउदै पाँच वर्ष कैद सजायको माग गरेका थिए ।गत वर्ष अक्टोबरमा सुरुवाती सुनुवाइमा शुएजले अदालतमा उठाइएको अवधिमा आफू उत्तरपूर्वी जर्मनीको पासवाकनजिकै खेतमा कृषि श्रमिकको रुपमा कामरत रहेको बताएका थिए । यद्यपि, अदालतले भने सुएज सन् १९४२ देखि सन् १९४५ बीचमा बर्लिनको बाहिरी भागमा रहेको शिविरमा नाजी पार्टीको अर्धसैनिक शाखाको सूचीकृत सदस्यको रूपमा काम गरेको प्रमाण रहेको बताएको थियो । वकिलहरुले मुद्दामा एसएस गार्डहरुको नाम, जन्म मिती, जन्मस्थान लेखिएका कागजातहरु पेस गरेका थिए ।

 

दस्तावेज अनुसार सुएजले कन्सर्नट्रेसन क्याम्पको काम सुरु गर्दा २१ वर्षका थिए । तर हालको सुएजको उमेरलाई ध्यानमा राख्दै उनले जेलमा बस्नुपर्ने सम्भावना भने कम छ । धेरै उमेर भएकाले मुद्दाको सुनुवाइका क्रममा पनि उनलाई केही सहुलियत दिइएको थियो । उनलाई दिनमा अढाई घण्टाभन्दा बढि सुनुवाईमा राखिदैनथ्यो । त्यस्तै सुनुवाईस्थल समेत सुएज बस्ने सहरको व्यायामगृहमा राखिएको थियो । साचसेनहाउसेन क्याम्पमा सन् १९३६ मा बर्लिनको उत्तरमा पहिलो पटक खोलिएको थियो ।

 

त्यसबेलासम्म एडोल्फ हिटलरले नाजी पार्टीको राजनीतिक सेना एसएसलाई नाजी कन्सनट्रेसन शिविर प्रणालीको पूर्ण नियन्त्रण दिइसकेका थिए । नाजीले यो क्याम्पलाई जर्मनी, अस्ट्रिया र अन्य नियन्त्रित भूभागमा निर्माण गरिएका अन्य क्याम्प सन्जालका लागि उदारणीय बनाउने हिसाबले तयार गरेको थियो । सन् १९३६ र १९४५ बीचमा क्याम्पमा २००,००० भन्दा बढी मानिसहरू त्यहाँ राखिएको थियो । तीमध्ये दशौं हजार कैदीहरू भोकमरी, रोग, कठोर श्रम र अन्य कारणहरूका साथै चिकित्सा प्रयोग र नियतबस मारिए ।

 

एसएसले कैदीलाई मार्नको लागि गोली हान्ने, झुण्ड्याउने र ग्यासमा निसासेर माथ्र्यो । साचसेनहाउसेन क्याम्पलाई सन् १९४५ अप्रिलमा नाजीहरुलाई हराउदै अघि बढेको सोभियत सेनाले मुक्त गरेको थियो । जर्मनीका अदालतले पछिल्लो समय नाजी क्याम्प संचालनमा जुनसुकै हिस्सामा काम गर्ने व्यक्तिलाई पनि दोषी ठहर गर्न सक्ने कानुनी नजिर पछ्याउन थालेका छन् । मङ्गलबारको फैसलाले पनि सोही नजिरलाई पछ्याएको थियो ।    अल जजिराबाट साभार