२०८१ बैशाख ७ , शुक्रवार

बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति सेवा बन्द

सुनाखरी न्युज/ काठमाडौं –

बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेशनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरमध्ये एउटामा आज बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।

 

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभिर, झोर लगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँचवटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेशनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको जानकारी दिए ।

 

उनका अनुसार, समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सञ्चालन गर्न टोली परिचालन भएको श्रेष्ठले बताए । यस्तै, प्राधिकरणको बलम्बु फिडरअन्तर्गत प्रवाह हुने बिजुलीमा समेत सामान्य पानी पर्ने बित्तिकै समस्या हुने गरेको छ । विशेषगरी चन्द्रागिरि नगरपालिका–१, २ र १२ मा बढी समस्या देखिने गरेको छ ।

 

समस्या समाधानका लागि पटकपटक स्थानीयवासीले प्राधिकरणको बलम्बु फिडरलाई आग्रह गरे पनि प्रभावकारी सुनुवाइ नगरेको गुनासो गरेका छन् । कुलेश्वर वितरण केन्द्र मातहत रहने गरी बलम्बु फिडरले काठमाडौंको पश्चिम क्षेत्रको बिजुली प्रवाहको व्यवस्थापन गर्दै आएको छ ।रासस