२०८० चैत्र १५ , बिहिवार

काठमाडौं महानगरपालिकाको सडकमा खानेकुरा बेच्न निषेध

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको जनाएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो। आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने भन्दै महानगरपालिकाले चेतावनी दिएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।

उनले पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको बताए । सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताए ।