२०८१ बैशाख १४ , शुक्रवार

‘कृषिलाई उच्च प्राथमिकतामा नराखेसम्म मुलुक आत्मनिर्भर बन्न सक्दैन’

सुनाखरी न्युज/ काठमाडौं ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।

 

सोमबार काठमाडौंमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको हो । सभापति सुवेदीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनुभयो । नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी सोही अनुरुपको उत्पादन आफैँ गर्न सक्नुपर्ने उहाँको भनाइ छ । नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक बनाउनुपर्ने सभापति सुवेदीले बताउनुभयो ।

 

कृषिलाई आधुनिकीकरण र व्यवसायिक बनाउन सरकारले आवश्यक नीति तथा नियमावली तत्काल बनाएर सहजीकरण गर्नुपर्नेमा उहाँको जोड छ । सुवेदीले सरकारले कृषिलाई चक्लाबन्दी, व्यवसायिकरण, आधुनिकीकरण गरेर आवश्यक सिंचाइ, उन्नत जातको बीउ र आवश्यक मल दिन सके मात्रै पनि नेपालीलाई पुग्ने धान उत्पादन गर्न समस्या नरहेको स्पष्ट पार्नुभयो ।

 

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई वृद्धि गर्नु नै अहिलको आवश्यकता भएको बताउनुभयो । धानको उत्पादन बढाउनको लागि परम्परागत धानको जात परिर्वतन गरी हाइब्रिड बीउमा जानुपर्ने उहाँको भनाइ छ । सचिव शर्माले वर्षे धान भन्दा पनि सरकारले चैते धानको उत्पादन बढाउनको लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने बताउनुभयो ।