२०८० चैत्र १६ , शुक्रवार

रहस्यमयी रकेट ठोक्किँदा चन्द्रमामा बने दुई खाल्डो, नासा वैज्ञानिक चकित

सुनाखरी न्युज/ काठमाडौं –

चन्द्रमामा चार महिना अघि एउटा रकेट ठोक्कियो । त्यसले दुईवटा खाल्डो बनायो । नासाको लुनर रिकन्सेन्स आर्बिटर (एलआरओ) ले खाल्डो त भेटे तर रकेटका टुक्रा कहाँ छन् त्यसबारे अत्तोपत्तो छैन ।

 

वैज्ञानिकका लागि अर्को एउटा समस्या पनि छ । साधारणतया एउटा रकेटको ठक्करले दुईवटा खाल्डो बन्दैनन् । तर त्यहाँ नजिकै दुई खाल्डो थिए । कुनै पनि वस्तुको ठक्करले एउटै ठाउँमा दुईवटा खाल्डो बन्न सक्दैन । यहि कुराले वैज्ञानिकलाई चकित पारिरहेको छ । ४ मार्च २०२२ मा एउटा रकेट बुस्टर चन्द्रमाको अँधेरो हिस्सासँग ठोक्किएको थियो । एलआरओले उक्त तस्बिर २५ मे सन् २०२२ मा लिएको थियो ।

 

तस्बिर वैज्ञानिकले फेला पार्दा उनीहरुले एकैपटक दुईवटा खाल्डो देखे । यो देखेर उनीहरु दङ्ग परे । खासमा के हो भने कुनै पनि एउटा चिजको ठक्करले एकै ठाउँमा मात्र खाल्डो बन्छ । पहिला नै त्यहाँ खाल्डो भएको पनि होइन, खासमा त्यो मैदानी इलाका थियो । यसअघि अपोलो एस–आइभीबीएस(Apollo S-IVBs) का थुप्रै रकेट बुस्टर चन्द्रमामा ठोक्किए तर तीमध्ये कुनैले पनि डबल क्रेटर बनाएको थिएन ।

 

यस्तो घटना हुनै सक्दैन भन्ने चाहिँ होइन तर यस्तो हुनु स्वभाविक पनि पक्कै होइन । अन्तरिक्ष विज्ञानी बिल ग्रेले नै सबैभन्दा यी खाल्डोबारे पत्ता लगाएका थिए । उनले नै जनवरी सन् २०२२ मा रकेट बुस्टर चन्द्रमासँग ठोक्किने भविष्यवाणी गरेका थिए । बिल ग्रे यसबारे भन्छन्, ‘रकेटको दिशा र दशाको गणितले यो बताउँछ कि यो भर्टिकली १५ डिग्रीको एंगलबाट यात्रा गरेर ठोक्किएको होला । त्यसैले यसले दुईवटा खाल्डो बनाएको हुनसक्छ ।

 

एउटा खाल्डो पूर्व दिशामा जसको व्यास १८ मिटर छ, यो पश्चिमी खाल्डोमाथि बनेको छ । पश्चिमी खाल्डो १६ मिटर व्यासको हो ।’ एलआरओ क्यामरा टिमको प्रिन्सिपल इन्भेस्टिगेटर मार्क रबिन्सनले रकेट ठोक्किएको स्थानमा कुनै ठूलो ढुङ्गा भएको हुनसक्ने आशंका गरे । उनले भने, ‘रकेट खस्दा जुन रकवेभ पैदा भयो, यसैका कारण त्यहाँको ढुङ्गाले नजिकै खाल्डो बनाइदिएको हुनसक्छ ।

 

तर यस विषयमा सटिक जानकारी हालसम्म भेटिएको छैन । जुन रकेट चन्द्रमासँग ठोक्किएको छ, त्यसबारे सटिक जानकारी हालसम्म प्राप्त छैन ।’ सुरुमा भनिएको थियो, ‘स्पेसएक्सको रकेटको माथिल्लो हिस्सा, चन्द्रमातर्फ गइरहेको छ । यो नासाको डीप स्पेस क्लाइमेट अब्जरभेटरी लिएर गएको छ ।’ तर पछि यो कुरा खारेज भयो । त्यसपछि पुनः अर्को खबर आयो जसमा ‘यो चीनको चांगई–फाइभटीवान मिसनको रकेटको हिस्सा हो ’ भन्ने जानकारी दिइएको थियो ।

 

तर त्यसको भोलिपल्टै चीनका विदेशमन्त्रीले यो कुरा अस्वीकार गरिदिए । उनले यो चीनको रकेट नभएको स्पष्टिकरण दिए । स्पेसएक्स र चीनको रकेटको भविष्यवाणी पनि बिल ग्रले नै गरेका थिए । उनी अहिले पनि चन्द्रमासँग ठोक्किने रकट चीनकै हो भनेर ठोकुवा गर्छन् । उनले यसबारे भनेका छन्, ‘चीनका विदेशमन्त्री आफ्नै दुई मिसनको नाममा अल्मिलिएका हुन् ।’ एजेन्सी