२०८१ बैशाख ११ , मंगलबार

सर्वसाधारणका लागि अप्पर हेवाखोलाको आइपिओ आउँदै

सुनाखरी न्युज/ काठमाडौं –

अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर निष्कासन गर्ने भएको छ।

 

कम्पनीले यही असार २४ गतेदेखि प्रतिकित्ता रु १०० अंकित रु १५ करोड मूल्य बराबरको १५ लाख कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्न लागेको हो। कम्पनीले कूल निष्कासनको दुई प्रतिशतले हुने ३० हजार कित्ता कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १३ लाख ९५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ।

 

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन्। जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन ६ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ। कम्पनीले संखुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् तथा ‘मेरो सेयर’ को मोबाइल एप तथा वेबसाइटमार्फत् सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयरएनपी–बिबी आइएस्’ ग्रेडिङ प्रदान गरेको छ।रासस