२०८० चैत्र १५ , बिहिवार

किशोर-किशोरीको उमेर पत्ता लगाउन इन्स्टाग्राममा नयाँ फिचर

सुनाखरी न्युज/ काठमाडौं –

आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ ।

 

किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर सहितको भिडियो सेल्फी फिचर ल्याएको हो ।

 

इन्स्टाग्राममा खाता खोल्नका लागि १३ वर्षभन्दा धेरै उमेरको हुनुपर्दछ । तर त्यो भन्दा पनि कम उमेरका बालबालिका र किशोर किशोरीहरुले आफ्नो जन्ममिति गलत हालेर आफ्नो उमेर १८ वर्षभन्दा धेरै रहेको विवरण पेश गरी इन्स्टाग्राममा अकाउन्ट खोल्ने गरेका छन् । तर अब यसरी खाता खोल्न चाहने अमेरिकी किशोर किशोरीहरुले आफ्नो उमेर प्रमाणित गर्नका लागि थप मिहिनेत गर्नुपर्ने भएको छ ।

 

त्यसका लागि उनीहरुलाई तीनवटा विकल्प दिइएको छ । पहिलो, उनीहरुले आफ्नो कुनै परिचयपत्र अपलोड गर्नुपर्नेछ । त्यसको साटो अन्य तीनजना प्रौढ इन्स्टाग्राम प्रयोगकर्ताले सिफारिस गर्न पनि सकिनेछ । साथै उनीहरुले आफ्नो भिडियो सेल्फी पेश गरेर समेत उमेर प्रमाणित गराउन सक्दछन् । इन्स्टाग्रामले हाल अमेरिकामा मात्र यो फिचर सुरु गरेको छ । यो फिचर लागू भएसागै किशोर किशोरीहरुले इन्स्टाग्राममा आफ्नो उमेरसँग मिल्दा उपयुक्त सामाग्रीहरु हेर्न पाउनेछन् ।

 

इन्स्टाग्रामको प्लाटफर्ममा किशोरावस्था तथा बालबालिकाहरुको सुरक्षालाई लिएर आलोचना खेपिरहेको बेला इन्स्टाग्रामले उमेर प्रमाणिकरण गर्ने नयाँ फिचर सुरु गरेको हो । स्मरण रहोस् प्रयोगकर्ताको उमेर तथा पहिचान प्रमाणित गर्नका लागि भिडियो सेल्फी पछिल्लो समय अनलाइन बैंकिङ एप लगायतका डिजिटल प्लाटफर्महरुमा लोकप्रिय विधि बन्दै गएको छ ।

 

इन्स्टाग्रामले पनि अकाउन्ट लक भएको बेला आफ्नो पहिचान प्रमाणिकरण गरी अकाउन्ट फुकुवा गर्नका लागि भिडियो सेल्फी पेश गर्ने फिचर यसअघि नै सुरु गरिसकेको थियो । जुन अहिले किशोर किशोरीको उमेर प्रमाणिकरणका लागि समेत प्रयोग हुँदैछ । यसका लागि इन्स्टाग्रामले मानिसको अनुहारको विश्लेषण गरेर उमेर पत्ता लगाउने प्रविधिको विकास गरेको बेलायती डिजिटल पहिचान प्रदायक कम्पनी योटीसँग सहकार्य गरेको छ ।

–बीबीसीबाट