२०८१ बैशाख ८ , शनिवार

शेयर बजारमा दोहोरो अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले घटेको छ । आइतबार ९४.९२ अंकले बढेको नेप्से आज फेरि दोहोरो घटेको हो । आज नेप्से २३.८५ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब १३ विन्दुमा झरेको हो ।

 

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा २ अर्ब ४ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २४ कम्पनीको शेयरमूल्य बढेको छ भने १६८ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९२.५० रुपैयाँ पुगेको छ भने न्यादी हाइड्रोको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको शेयरमूल्य ९.१५ प्रतिशतले बढेर १४१९ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।