२०८० चैत्र १६ , शुक्रवार

दुई वर्षभित्र सबै नेपालीलाई गुणस्तरीय विद्युत् सेवा पुर्‍याउँछाैं : मन्त्री भुसाल

सुनाखरी न्युज/ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीका लागि विद्युत् सेवा पुग्ने बताउनुभएको छ ।

 

सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ मा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिने बताउनुभएको हो ।‘आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाई कार्यान्वयन गरिनेछ,’ उहाँले भन्नुभयो, ‘मैले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत खपत गर्ने २६ लाख परिवारलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु ।’

 

मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युटिसम्म विद्युत खपत गर्ने २६ लाख ग्राहकले निःशुल्क विद्युत सेवा पाएको बताउनुभयो । उहाँले सिंचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिनेगरी प्रतियुनिट दुई रुपैयाँसम्म महशुल कायम गरिएको तथा खानेपानीतर्फ इनर्जी शुल्क करिव ५० प्रतिशतले घटाइएको जानकारी दिनुभयो । मन्त्री भुसालले आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७०० देखि १००० मेघावाट विद्युत नेपालको विद्युत प्रणालीमा थपिँदै जाने बताउनुभयो । यसरी विद्युत थपिँदा आगामी २ वर्षका सुख्खा याममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने उहाँले बताउनुभयो ।