२०८१ बैशाख १२ , बुधवार

रसुवागढी हाइड्रोपावरको आईपीओ आजदेखि स्थानीयमा जारी

सुनाखरी न्युज/ काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई आईपीओ निष्कासन गरेको छ । कम्पनीले रू. १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय वासिन्दका लागि निष्कासन गरेको हो ।

आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि उक्त आईपीओ निष्कासन गरेको हो । उक्त आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक स्थानीयले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त मितिसम्म माग अनुसार आवेदन नपरेमा साउन १० गतेसम्म समय थप गरिने कम्पनीले जानकारी दिएको छ । यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् । आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरूबाट आवेदन दिन सकिनेछ ।