२०८१ बैशाख ६ , बिहिवार

“सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ को तयारी

सुनाखरी न्युज/ काठमाडौं –

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको आयोजनामा यही असार १० गतेदेखि १३ गतेसम्म भृकुटीमण्डपमा सातौँ बृहत् शैक्षिक मेला हुने भएको छ ।

 

“सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने विषयमा परामर्श दिने उद्देश्यले मेला गर्न लागिएको जनाइयो । हिसानका अध्यक्ष रमेश सिलवालले ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिलाउन मेलाले सघाउने बताउनुभयो ।

 

 

मेलाका संयोजक युवराज शर्माले १० जोड २ देखि उच्चस्तरको शिक्षा हासिल गर्ने विद्यार्थीलाई लक्षित गरी सञ्चालित यस शैक्षिक मेला विद्यालय शिक्षादेखि विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिई विभिन्न कार्यक्रम सञ्चालन गरेका शैक्षिक संस्था तथा प्राविधिक एवं उच्च प्राविधिक कार्यक्रम सञ्चालन गरेका संस्थाका साथै त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) को सम्बन्धनमा सञ्चालित ७५ बढी शैक्षिक संस्थाको सहभागिता हुने जानकारी दिनुभयो । मेलामा दुई लाख विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ ।