२०८१ बैशाख १५ , शनिवार

निजी सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन नाडाको माग

सुनाखरी न्युज/ काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले निजी सवारी आयातमा लगाइएको प्रतिबन्ध हटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूसँग आग्रह गरेको छ । नाडा अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बडूसँग भेटगरी सरकारले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको हो ।

 

भेटघाट तथा छलफलमा अध्यक्ष थापाले सरकारले देशको बर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई असार मसान्तसम्मको लागि लगाएको प्रतिवन्ध तत्काल खारेज गरी अटोमोवाइल व्यवसायीहरुलाई आफनो व्यवसाय गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरेका हुन् । बैंक तथा वित्तिय निकायहरुमा फाइनान्सको असहजता, एल.सि मार्जिनमा गरिएको बृद्धि, जोखिम भार व्यवस्थापनमा दोब्बरले गरिएको बृद्धि जस्ता विषयहरुले विगत ८ महिना देखि अटोमोवाइल व्यवसायमा ८० प्रतिशत भन्दा बढीले ह्रास आएको उनले मन्त्री बडूलाई जानकारी गराएका थिए ।

 

थापाले देशलाई भन्सार विन्दुमा उठने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बोको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेका व्यवसायीहरु अहिले धरासायी हुने अवस्थामा पुगेकोतर्फ ध्यानाकर्षण गराएका थिए । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिष्ठा आर्जन गर्दै आएको नाडा अटो एक्सपो २०२२ आगामी भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय भईसकेको अवस्थामा आयातमा लागेको प्रतिबन्ध हट्न जरुरी भएको उनको भनाई थियो । प्रदर्शनीले राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पु¥याउने भएकोले त्यसको सहजताको लागि उनले मन्त्री बडूसँग आग्रह गरेका हुन् ।

 

भेटका क्रममा मन्त्री बडूले कार जीप र भ्यान जस्ता नीजि सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध असार मसान्तसम्मको लागि मात्र भएकोले धैर्य गर्न अनुरोध गरेका थिए । उनले साउन १ गतेदेखि सो प्रतिवन्ध फुकुवा हुने आश्वासन दिएका थिए । छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्दिय कार्य समिति सदस्य आकाश गोल्छा तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान पनि उपस्थित थिए ।