२०८१ बैशाख ७ , शुक्रवार

सरकार र वायु सेवा सञ्चालकहरुबीच सहमति

सुनाखरी न्युज/ काठमाडौं । आज बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने वायु सेवा सञ्चालकहरुले आज बिहान ११ बजेदेखि उडान सुचारु गर्ने भएका छन् ।

 

नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तापछि वायु सेवा सञ्चालकहरु सेवा सुचारु गर्न तयार भएका हुन । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको समन्वयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच भएको वार्तामा तत्कालका लागि उडान बन्द नगर्ने सहमति बनेको हो ।

 

नागरिक उड्डयन प्राधिकरणले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौं बाहिरका विमानस्थलमा लैजानुपर्ने निर्णय गरेपछि त्यसको विरोधमा वायु सेवा सञ्चालकहरु उडान रोक्ने निर्णयमा पुगेका थिए । यात्रुहरुलाई पूर्व सूचना समेत नदिई उडान रोक्ने निर्णय गरेपछि उनीहरुको चर्को आलोचना भएको थियो ।

 

प्राधिकरणले हेलिकप्टर कम्पनीलाई मंगलबारदेखि र हवाईजहाज कम्पनीलाई आगामी १३ गतेबाट तोकिएको विमानस्थलमा मात्र राति पार्किङ गर्न निर्देशन दिएको थियो । कुन कम्पनीका कतिवटा जहाज कुन विमानस्थलमा पार्किङ गर्ने भनी तोकेर सोमबार पत्र पठाइएको थियो ।