२०८० चैत्र १५ , बिहिवार

अनौठो संस्कार : जहाँ महिलाहरूले आफ्नो बिहेको दिनमात्र नुहाउँछन्

सुनाखरी न्युज/ काठमाडौं –

संसारमा धेरै रहस्य तथा अनौठो परम्पराहरु छन् । कतिपय मानिसहरूको रहनसहन तथा खानपानले अरुलाई नै अचम्ममा पार्दछ । आजको आधुनिक संसारमा पनि यस्ता धेरै ठाउँ तथा समुदायहरू छन् जहाँका मानिसहरूले आदीम परम्पराहरु निर्वाह गर्दै आएका छन् ।

 

अफ्रिका महादेशको नामिबिया देशमा बस्ने हिम्बा नामक आदिवासी समुदायमा पनि यस्तै एउटा अनौठो परम्परा छ जसलाई आधुनिक यूगको परिभाषामा असभ्य पनि लाग्न सक्दछ । उक्त आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनकालमा केवल एकपटक मात्र नुहाउँछन् । वास्तवमा हिम्बा आदिवासी समुदायका महिलाहरूले आफ्नो जीवनमा केवल बिहेको दिन मात्र नुहाउने गर्दछन् ।

 

जीवनमा केवल एक पटक मात्र नुहाउने भए पनि उनीहरू सधै फ्रेस देखिन्छन् । उक्त आदिवासी समुदायका महिलाहरूले बिहेको दिनमात्र नुहाउन पाउँछन् र उनीहरूले अन्य बेला हातमुख धुन र कपडा धुनसमेत पानीको प्रयोग गर्न पाउँदैनन् । जीवनमा बिहेको दिनमा बाहेक पानीले नुहाउन नपाउने यी महिलाहरू जीउलाई सफा तथा ताजा राख्नका लागि विभिन्न खाले जडीबुटीहरूको प्रयोग गर्दछन् ।

 

त्यस्ता जडीबुटीहरूलाई पानीमा उमालेर त्यसकै बाफले शरीर सफा गर्दछन् । घामबाट छालालाई जोगाउनका लागि विशेष खालको लोसन प्रयोग गर्दछन् जुन जनावरको बोसो र फलाम जस्ता खनिज तत्वबाट बनेको हुन्छ । उक्त लोसनले उनीहरूलाई लामखुट्टेलगायतका किराहरूबाट पनि जोगाउँछ । उक्त समुदायका महिलालाई रेड म्यानको नामले पनि चिनिन्छ ।

 

उनीहरूले जीउको तल्लो भागमा केवल लुंगी जस्तो कपडा लगाउँछन् भने माथिल्लो भाग प्रायः नांगै हुन्छ । साथै उनीहरूले विशेष खालको गहना लगाउने गर्दछन् । यो समुदायका मानिसहरू निकै धार्मिक स्वभावका हुन्छन् । बच्चाको जन्मका बेला पनि त्यहाँ विशेष समारोह गरिन्छ ।  एजेन्सी