२०८१ बैशाख ७ , शुक्रवार

संसदीय समितिले सरकारसँग माग्यो एसपिपीसँग सम्बन्धित पत्राचारका सबै कागजपत्र

सुनाखरी न्युज/ काठमाडौं –
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारसँग एसपिपीसँग सम्बन्धित पत्राचारका सबै कागजपत्र मागेको छ ।

 

शुक्रबार सिंहदरबारमा बसेको परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतलाई बोलाएर गरिएको छलफलपछि ‘एसपीपी’बारे अध्ययनका लागि यससँग सम्बन्धित विगतदेखिको पत्राचारका कागजात मागिएको हो ।

 

 

सभापति पवित्रा निरौला खरेलले सरकार तथा नेपाली सेनाबाट भएका अहिलेसम्मका सबै प्रक्रिया र त्यससँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन निर्देशन दिएकी हुन् । उक्त छलफलमा ईश्वर पोखरेल, भीम रावल लगायतका सांसदहरुले एसपीपीबारे संसदीय छानविन गर्न माग गरेका थिए ।

 

साथै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण र एजेण्डाबारे जानकारी गराउनका लागि असार ५ गते प्रधानमन्त्री देउवालाई समितिको बैठकमा आमन्त्रण गरिएको जानकारी गराइन् । उनले प्रधानमन्त्री देउवालाई स्पष्टिकरण लिनका लागि बोलाउने नभई प्रधानमन्त्रीको धारणा लिएर प्रष्ट हुनका लागि बोलाइएको बताइन् । हरेक सरकार परिवर्तनसँगै नेपालको परराष्ट्रनीति फेरिन नहुने बताइन् ।

 

उनले नेपालको परराष्ट्र नीतिको बारेमा अध्ययन गर्न संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिले उपसमिति बनाएको र त्यसले काम गरिरहेको पनि जानकारी गराइन् । छिमेकी राष्ट्रहरूलाई विश्वासमा लिएर शान्ति क्षेत्र घोषणा गर्नका लागी सबैसँग समान कुटनीतिक सम्बन्ध कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।