२०८० चैत्र १५ , बिहिवार

वर्षाले सुरुङ नभत्किए मेलम्चीको पानी वर्षायामलगत्तै काठमाडौं ल्याइने

सुनाखरी न्युज/ काठमाडौं ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले वर्षायाममा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन नसकिने बताएका छन् ।  मेलम्चीमा गत असार १ गते आएको बाढी र पहिरोले गर्दा क्षति भएको र त्यहाँ थुप्रिएको लेदोले गर्दा वर्षायाममा पानी ल्याउन गाह्रो भएको उनले बताए । मेलम्ची खानेपानी आयोजनाको सुरुङ सुरक्षाको लागि वर्षा यामसम्मका लागि पानी काठमाडौं उपत्यका ल्याउन बन्द गर्नु परेको मन्त्री चौधरीको भनाइ थियो ।

 

प्रतिनिधिसभा बैठकमा मंगलबार खानेपानी मन्त्रालय अन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले मेलम्ची खानेपानी योजनाको अवस्थाबारे जानकारी गराएका हुन् ।

मन्त्री चौधरीले वर्षायाम सकिनेबित्तिकै सो आयोजनाको पानी काठमाडौं ल्याउने काम सुरु हुने मन्त्रालयको योजना रहेको जानकारी दिए । मेलम्ची खानेपानीको विकल्पमा पनि अध्ययन भइरहेको मन्त्री चौधरीको भनाइ थियो ।

मेलम्चीको खानेपानी वर्षायाममा ल्याउन नसकिएकाले त्यसको पनि विकल्पमा काम भइरहेको उनले बताए ।

मन्त्री चौधरीले काठमाडौं उपत्यकाको चक्रपथभित्र खोनपानीमा सबैको सुरक्षित पहुँच पुर्‍याउन पाइपलाइन सञ्जाल विस्तारको काम भइरहेको बताए । उनले स्वच्छ खानेपानी उपयोग गर्न पाउने नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै सोहीअनुसार खानेपानीको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताए ।