२०८१ बैशाख २७ , बिहिवार

मुग्लिन–आँबुखैरेनी सडकमा पहिरो काटेर सवारी सञ्चालन गर्ने प्रयास, केही दिन ठूला सवारी नचल्ने

सुनाखरी न्युज/ तनहुँ ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रुपमा साना सवारी चले पनि केही दिन ठूला सवारी नचल्ने भएको छ । सडक विभागले भित्तातर्फको पहिरो करिब २ फिट काटेर शुक्रबार बिहान ११ बजेदेखि साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला सवारी भने चल्ने अवस्था नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिए । आँबुखैरेनी गाउँपालिका-४ ड्यामसाइडमा शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएको थियो ।

 

यस खण्डको करिब २० मिटर सडक तल खसेको गैरेले बताए । उनले भने, ‘करिब २० मिटर सडक भासिएको छ । वरपरका ४० मिटर क्षेत्र जोखिममा छ ।’

 

‘सडक भासिएपछि २ फिट परसम्म पहिरो काटेर साना सवारी चल्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘ठूला सवारी चलाउने अवस्था छैन, त्यसका लागि पहिरो काटेर बाटो निर्माण गर्न लागेका छौं । केही दिनका लागि उक्त सडकखण्डमा ठूला सवारी साधन चलाउन नसकिने अवस्था छ ।’