२०८१ बैशाख ६ , बिहिवार

सगरमाथा आधार शिविरमा जलवायु परिवर्तन सम्मेलन

सुनाखरी न्युज/ काठमाडौं –

विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन सम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ । विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा (मे २९) आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

 

वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिए ।सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो ।

 

उनीहरुले विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गरेका थिए । वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनको सवालमा विश्वको ध्यानाकर्षण गराउन सम्मेलन भएको संयोजक पूर्ण राईले जानकारी दिए । रासस