२०८० चैत्र १५ , बिहिवार

दोहोरो अंकले घट्यो शेयर बजार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन अर्थात आज शुक्रबार दोहोरो अंकले घटेको छ । केहि दिनदेखि निरन्तर उकालो लागेको नेप्से आज भने घटेको हो । आज नेप्से १५.८२ अंकले घटेर दुई हजार २ सय २३ दशमलव ७८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से ८.०३ अंकले बढेर दुई हजार २ सय ३९ दशमलव ६० विन्दुमा बन्द भएको थियो ।

 

त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज १ अर्ब २९ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १४६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा ६ प्रतिशत भन्दा बढीको वृद्धि भएको छ । आज रु रु जलविद्युत परियोजनाको शेयरमूल्य ६.१३ प्रतिशतले बढेर प्रतिकित्ता ९ सय रुपैयाँ पुगेको छ ।

 

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, अप्पर तामाकोशी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ३ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज १७ करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ ।