२०८१ बैशाख १३ , बिहिवार

राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनी बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बिच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरुलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ र लाख रुपैंया सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ ।

 

सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरुको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताउनुभयो । पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताउनुभयो । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रमको विषयबस्तु बारे प्रकाश पार्नुभएको थियो ।

 

कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पुनर्बीमा कम्पनीका बरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल २५८ वटा शाखा कार्यालय, २४५ वटा ए.टि.एम, ४३ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।