२०८१ बैशाख ८ , शनिवार

कृष्ण सेनको स्मृतिमा प्रभातफेरी

सुनाखरी न्युज/ काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वका क्रममा प्रहरी हिरासतमा मारिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को २१ औं स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा प्रभातफेरि गरिएको छ ।

 

क्रान्तिकारी पत्रकार महासङ्घ र अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आयोजनामा विहान काठमाडौंंमा प्रभातफेरी गरिएको हो । रत्नपार्क शान्तिबाटिकाबाट शुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक हुँदै पत्रकार सेन मारिएको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लवको गेटमा पुगेर सम्पन्न गरिएको थियो । प्रभातफेरीपछि आयोजित कोणसभामा सेनले लेखेका विभिन्न कविताहरु बाचन गरिएको थियो ।

 

कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा. डा. जगदिशचन्द्र भण्डारी, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखी, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष नारायण पंगेनी, प्रगतिवादी साहित्यकार बलराम तिमिल्सिना लगायतले कृष्ण सेनको योगदानकोबारेमा चर्चा गरेका थिए ।

यस्तै, जनयुद्धका शहीद शिव श्रेष्ठ, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, ध्रुव ज्ञवाली, हर्कबहादुर शाही लगायत सांस्कृतिक शहीदहरुको सम्मानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लगायत माओवादी सम्बद्ध पत्रकार, कलाकारहरुले जेठ १३ मा सांस्कृतिक बलिदान दिवस मनाउँदै आएका छन् ।