२०८१ बैशाख ७ , शुक्रवार

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

सुनाखरी न्युज/ काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।

 

कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित उक्त क्षेत्रका स्थानीयमा प्रतिकित्ता रू. १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिएको हो । कम्पनीले स्थानीयमा जारी गरेको आईपीओमध्य २ लाख ९७ हजार ८४० कित्ता विक्री नभएको देखिन्छ । स्थानीयमा विक्री नभएको उक्त कित्ता आईपीओ सर्वसाधारणमा जारी हुदाँ थप भएर आउनेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि विक्री गर्नेछ ।

 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले लमजुङ्ग जिल्लामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गर्दैछ । यो आयोजनाको अनुमानित निर्माण लागत कुल रू. २ अर्ब ६९ करोड ४४ लाख ३ हजार रहेको छ । आर्थिक वर्ष ०७७/७८ सम्म कम्पनीको सञ्चित नाफा रू. १ करोड ८१ लाखभन्दा बढी छ । कम्पनीको सो अवधिसम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. शून्य दशमलव १० र प्रतिशेयर नेटवर्थ रू. १०२ दशमलव २७ रहेको छ ।