२०८० चैत्र १५ , बिहिवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

दैलेख- आठबिस नगरपालिका-२ सिस्नेस्थित सडकमा नेपालगंजतर्फ जाँदै गरेको म.१ ख ६६० नम्बरको बस सडकबाट अन्दाजी ३० मिटर तल कर्णाली नदीमा खसेर बुधबार राति दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुल्लु नगरपालिका-९ बस्ने ३२ वर्षीय प्रेम सुनार समेत ३ जनाको घटनास्थलमै र १ जनाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार २० जनालाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अछाम- पञ्चदेवल बिनायक नगरपालिका-४ टोट्केसालस्थित सडकमा बेल्खेतघाटतर्फ मलामी लिएर जाँदै गरेको भे.१ त ८९३७ नम्बरको ट्याक्टरको ट्रली पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सोही नगरपालिका-१ बस्ने ४२ वर्षीय अम्मर नाथ धमला र ३२ वर्षीय तारा धमलाको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको जिल्ला अस्पतालमा, ५ जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने १५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया- मधुवन नगरपालिका-४ मख्खन चोकस्थित सडकमा ढोढरीबाट भुरीगाउँतर्फ जादै गरेको लु.६२ प ४७३९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक बासँगढी नगरपालिका-२ मदाहा बस्ने २५ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा- निजगढ नगरपालिका-९ गौरीशंकर क्याम्पसस्थित भित्री सडकमा बा.प्र-०३-००१ च ११४६ नम्बरको पिकअपको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम आचार्यको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । पिकअप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।