२०८१ बैशाख ६ , बिहिवार

महावीर पुनलाई पोर्चुगलमा सम्मान

सुनाखरी न्युज/ काठमाडौं –

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा. पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

 

डा.पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो । सो अवसरमा डा पुनसँग अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रममा डा.पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिएका थिए ।

 

केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उनले जानकारी गराएका थिए । नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै डा.पुनले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताए । राज्यले दक्ष मानव पूँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो ।

 

दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै डा. पुनले नयाँ–नयाँ खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशिलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताए । डा.पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बुधबार बेलायततर्फ प्रस्थान गरेका छन् । यसअघि डा. पुन बेलायत, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, जर्मनी, स्वीडरल्याण्ड, फ्रान्स, लग्जेम्वर्ग, बेल्जियम, नर्वे, पोल्याण्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी भएका थिए ।

 

यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि सङ्घले आर्थिक सङ्कलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ पोर्चुगलका महासचिव दीपु मगरले जानकारी दिए । केन्द्रको सहयोगार्थ सङ्घले हालसम्म ६ हजार युरो सङ्कलन गरिसकेको र करिब १० हजार युरो सङ्कलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले बताए । रासस