२०८० चैत्र १६ , शुक्रवार

घोषणापत्रलाई अक्षरस कार्यान्वयन गर्छौं : नवनिर्वाचित मेयर आचार्य

नारायण क्षेत्री/ पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले घोषणापत्रलाई व्यवहारमा कार्यान्वयन गर्ने बताएका छन् । रेडियो अन्नपूर्ण न्यूज डेस्कले बुधबार आयोजना गरेको राउण्ड टेबलमा बोल्दै सत्तारुढ पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरमा निर्वाचित आचार्यले चुनावी घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

सबै कर्मचारी आफ्नो कामप्रति जवाफदेखि हुनुपर्नेमा जोड दिँदै उनले कर्मचारीलाई मात्र दोष दिएर उम्कने प्रयास गरे त्यो नेतृत्वको कमजोरी हुने उनको भनाई थियो । ५ बर्षमा समग्र पोखराको विकासले काँचुली फेर्ने समेत आचार्यले दाबी गरे । अबको १ महिनाभित्र सेवाग्राहीहरुले महानगरको काम गर्ने शैलीमा पनि फरक अनुभूति गर्ने उनले बताए । महानगरलाई समृद्ध बनाउन करको दरमा वृद्धि नभई करको दायरालाई बढाइनेपनि आचार्यले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थाल सबैको प्रतिष्ठाको विषय भएकाले विमानस्थल सञ्चालनका लागि ल्याण्डफिल साइटको व्यवस्थापनमा पनि जोड दिने उनले बताए ।

 

आफू ५ बर्ष महानगरमा जागिर खान नभइ सेवा गर्न आएकाले अनुत्पादक काममा समय खर्च नगर्ने समेत प्रतिबद्धता व्यक्त गरे । नीजि क्षेत्र बिना समृद्धि सम्भव नभएकाले नीजि क्षेत्रसंग पनि हातेमालो गर्दै अगाडी बढ्ने बताउँदै उनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिए ।

 

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत बुधबार बिहान सार्वजनिक भएको मतपरिणाममा आचार्यले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पराजित गर्दै पोखरा महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे ।