२०८१ बैशाख ८ , शनिवार

भारतका १५ सहरमा रिलिज हुँदै ‘कबड्डी ४’

सुनाखरी न्युज/ काठमाडौं –

रामबाबु गुरुङ निर्देशित फिल्म‘कबड्डी ४’आगामी असार २ गतेदेखि भारतका १५ सहरमा प्रदर्शन हुने भएको छ । उक्त फिल्ममा दयाहाङ राई, सौगात, मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।

 

मंगलबार पश्चिम बंगालको सिलीगुडीमा आयोजित पत्रकार सम्मेलनमा भारतमा फिल्म रिलिजको औपचारिक घोषणा गरिएको हो । नेपाली फिल्मको प्रदर्शन इतिहासमा यति धेरै भारतीय सहरमा एकैपटक फिल्म प्रदर्शन गर्न लागिएको यो पहिलो पटक हो । नेपाली भाषीको धेरै बसोबास रहेका सहरहरु सिलीगुडी, गुवाहाटी, दार्जिलिङ, कालिम्पोङसहितका सहरमा फिल्म देखाइन लागिएको हो ।

 

असार १ गते हुने भारत प्रिमियरमा भाग लिन दयाहाङ राई, सौगात मल्ल, मिरुना मगरसहित २० जनाको टोली त्यहाँ जाने भएको छ ।‘भारतको नेपालीभाषी क्षेत्रमा बजारको खोजीका लागि एकसाथ रिलिज गर्न लागेका हौं,’निर्माता मणिराम पोखरेलले भने,‘कबड्डी मात्र हैन, समग्र नेपाली फिल्मकै बजारको खोजी भारतमा हुनेछ ।’

 

होर्डिङ बोर्ड, रोड शो र पत्रकार सम्मेलन ती सहरमा आयोजना गरिएको उनले जनाए । ‘कबड्डी ४’नेपालसहित अष्ट्रेलिया, जापान लगायतका मुलुकमा भने आगामी शुक्रबार एकसाथ रिलिज हुँदैछ ।