२०८१ बैशाख १३ , बिहिवार

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

सुनाखरी न्युज/ काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरले आज मंगलबार जेठ १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

 

कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरेको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा जेठ २४ गतेसम्म र ढीलोमा असार ८ गतेसम्म आइपीओ खुला रहनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले अपर हेवाखोलाको आइपीओलाई ‘कियर एनपी डबल बी आइएस’ प्रदान गरेको छ ।

 

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यो आइपीओमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको खाँदबारी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, प्राइम बैंकको तुम्लिङटार शाखा र सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखाबाट आवेदन दिन सकिन्छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।