२०८१ बैशाख ७ , शुक्रवार

भरतपुर अस्पतालको ओपिडी टिकट बिहान ७ बजेबाट

सुनाखरी न्युज/ भरतपुर –

भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।

 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उहाँका अनुसार बिहान ८:३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९:३० बजेबाट सुरु हुनेछ ।

 

यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्ने हुने गरेकोमा आधा घण्टा थप गरी अब टिकट काउन्टर १२:३० बजेसम्म खुल्नेछ । सोमबारदेखि शुक्रबारसम्म बिदाको दिन बाहेक यो नियम लागू हुने पौडेलले जानकारी दिए । ओपिडी सेवामा परीक्षण भने ९:३० बजेदेखि ३:३० बजेसम्म हुनेछ ।

 

अस्पतालले आइतबार सार्वजनिक बिदाको दिन पनि निजी अस्पतालको तुलनामा कम शुल्कमा बिहान ९:३० देखि दिउँसो १ बजेसम्म बिरामीलाई ओपिडीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । रासस