२०८१ बैशाख ७ , शुक्रवार

आठ वर्ष पुरानो घटनाले शुरु गरायो बलात्कारको मुद्दामा हदम्यादको प्रावधान बहस

सुनाखरी न्युज/ काठमाडौं ।

एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै बुधबार खुलासा गरिन् ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक मनोज पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले भिडियोमा खुलाएकी छन् ।

 

उनले त्यसबेला  कसैबाट पनि  आफूमाथि भएको यौन हिंसाबारे कानुनी प्रक्रियामा जानसहयोग पाइनन् । प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले समेत आफूलाई सहयोग नगरेको उनको गुनासो छ । सुब्बाले त्यसबेला सहयोग गर्न नसकेकोमा माफी पनि मागिसकेकी छन् ।

उनले आफ्ना प्रेमीलाई पनि घटनबारे बताउँदै प्रहरीकहाँ जान सहयोग मागेकी थिइन् । तर ती प्रेमीले पनि साथ दिएनन्, त्यसपछि पनि जतिसँग सहयोगको अपेक्षा गर्दै नजिक भइन्, हरेकबाट हिंसामा परिन् । घटनाका कारण मानसिक समस्याबाट गुज्रिरहँदा उनी पीडा भुलाउन दुर्व्यसनमा पनि पुगिन् ।

तिनै युवतीले पहिलो भिडियो श्रृङ्खला सार्वजनिक गरेको ४८ घन्टापछि शुक्रबार साँझ पुनः रुँदै अर्को भिडियो सार्वजनिक गरिन्, ‘यो कस्तो नियम हो नेपालको ?  एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल नै लिंदैन रे, अदालतले ।’ जबर्जस्ती करणी सम्बन्धी कसूरमा उजुरीका लागि एक वर्षसम्म हदम्याद छ भन्ने सुनेपछि विक्षिप्त भएकी उनले ‘हदम्याद नाघ्यो भन्दैमा आफू पीडित होइन भन्नै नहुने’ भनेकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘कोही ढिला बोल्छन्, कोही छिटो बोल्छन्, मलाई अहिले बल्ल थाहा भयो, एक वर्षसम्म रिपोर्ट नहुँदा फाइल दर्ता भए पनि अदालतले फिर्ता गरिदिन्छ भनेर ।’ उनले रुँदै खिचेको भिडियो सार्वजनिक भएपछि शुक्रबार बलात्कार सम्बन्धी कसूरमा हदम्यादको व्यवस्था हटाउन माग गर्दै युवाको एक समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाहिर धर्ना दिएको छ ।

संसदमा पनि यो विषयले प्रवेश पाएको छ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिन भनेका छन् । साथै, हदम्यादसम्बन्धी व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने पनि उनले बताएका छन् । सांसदहरुले प्रश्न उठाएपछि सभामुख अग्नि सापकोटाले उक्त घटनाको छानबिन गर्न सरकारलाई रुलिङ गरेका छन् । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले पनि बलात्कारसम्बन्धी कानुनको संशोधन गर्न संसद्लाई आग्रह गरेकी छन् ।

मुलुकी अपराध संहिता, २०७४ ले बलात्कार सम्बन्धी कसूरमा उजुरीका लागि एक वर्ष हदम्याद तोकेको छ । नाबालिगको हकमा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने भनिएको छ । घटना भएका बेला पीडित १६ वर्षकी थिइन्, त्यतिबेला नाबालिग नै थिइन् । अहिले उनी २४ वर्ष पुगिसकेकी छन् र हदम्याद नाघेकाले कानूनी प्रक्रिया जटिल भएको प्रहरीको भनाइ छ ।

मानवअधिकारकर्मी एवं अधिवक्ता मोहना अन्सारीले पनि न्याय गर्न नसक्ने कानुनको औचित्य नहुने बताउँदै हदम्याद सम्बन्धी व्यवस्था फेर्नुपर्ने बताएकी छन् ।

कतिपय अवस्थामा अदालतले पनि अनुसन्धान गर्न बाटो खोलिदिएको उदाहरणहरु पनि छन् । सुन्तली धामीको घटनामा न्यायाधीश बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन बाटो खोल्ने गरी व्याख्या गरिदिएको थियो ।

 

घटनाबारे छानबिन गर्न गठित समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवर कुन कानुनी आधारमा टेकेर प्रक्रिया अघि बढाउने भन्ने विषयमा परामर्श लिइरहेको बताउँछन् ।