२०८० चैत्र १६ , शुक्रवार

भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

सुनाखरी न्युज/ काठमाडौं । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिमाल लगायत ४ हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ ।

 

प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको यस अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि सहकार्य गरेका छन् । यस क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक ११ सय आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका यी ४ हिमालमा आरोही सँग–सँगै ठुलो मात्रामा फोहोर पनि भित्रिन्छन् जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको छ । यहि समस्या समाधान गर्नका लागि गत अप्रिल ५ बाट हिमाल सरसफाई अभियान शुरु गरिएको थियो जसमा अहिलेसम्म ४ वटा हिम–शृंखलाहरुबाट २९,९९८ के जी (५,२०४ केजी कुहिने र २४,७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ ।

 

यी फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य सहित हिमाल सरसफाई भइरहेको छ । अभियानको बारेमा बोल्दै क्याम्पेन डिरेक्टरले भन्नुभयो, “अत्याधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण हुन्छ । हाम्रो एक्स्पेडिसन टिमका सदस्यहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हामीले अहिले सम्मको यात्रा तय गरेका छौँ । र यसैलाई निरनतरता दिँदै हामी यो अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गर्नेछौं ।” नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित यस हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान मध्यको एक हो र यो अभियानको तेस्रो संस्करण हो जसमा कोका–कोला फाउन्डेसन लगातार ३ वर्षदेखि प्रमुख साझेदार रहेको छ ।

 

हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्य सहित ४ वटा हिम–शृंखलाहरुको सरसफाई गरी यो अभियान सञ्चालन गरिएको हो । यस वर्षको अभियानको नारा “हिमाल बचाउने प्रयास; हाम्रो हिमाल, हाम्रो दायित्व” रहेको छ । स्थानीय सरकार, सरोकारवाला र सम्बन्धित साझेदारहरूसँगको समन्वयमा यो अभियान अघि बढिरहेको छ । यस अभियानबाट सङ्कलन गरिएका फोहोरलाई रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ । यो अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा समापन गरिनेछ ।