२०८० चैत्र १६ , शुक्रवार

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी सञ्चालन गर्ने

सुनाखरी न्युज/ काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिवार(जेठ ७ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ ।

 

नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०:३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्न लागेको हो । नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान संचालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको हो । यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा संचालन गर्नेछ । यो टिमले विहान ८ बजेदेखि १० बजेसम्म सेवा दिनेछ ।

 

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ । यसैगरी, ९ बजेदेखि १०:३० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ । मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ । नर्भिकमा हाल सानो प्वाल बनाई मृगौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाई मृगौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाई मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधि समेत उपलब्ध छ ।

 

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत नर्भिकमा उपचार हुने गरेको छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।