२०८१ बैशाख ८ , शनिवार

मिडियामा बालेन साहको छोरी जन्मिएको समाचार, श्रीमती सबिना भन्छिन्–‘हाँस्दा–हाँस्दै मर्न लागेँ’

सुनाखरी न्युज/ काठमाडौं । बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् ।

 

आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् । काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन् ।

धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज हैन बुधबार दिउँसो छोरी जन्मिएकी हुन् । मैले कहाँ छोरी पाएको हुनु । मिडियामा पनि मैले छोरी जन्माएको भनेर लेखिराछन् । कसरी समाचार लेख्छन् भनेर हाँसो लागिरहेको छ । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’ लगातार फोन आएर आफू हैरान भएको उनको भनाइ छ ।