२०८१ बैशाख २८ , शुक्रवार

झरना निर्देशित फिल्म भागवत गीता को अमेरिका राइट्स बिक्री

सुनाखरी न्युज / काठमाडौं – झरना थापाको निर्देशन रहने फिल्म ‘भागवत गीता’ को अमेरिका राइट्स बिक्री भएको छ । निर्माण युनिटले नमस्ते इन्टरटेनमेन्ट अमेरिकालाई शो राइट बिक्री गरेको हो । अभिनेत्री तथा निर्देशक झरना थापा ‘भागवत गीता’ निर्देशनको तयारीमा छिन् । छायांकन सुरु नहुँदै फिल्मको अमेरिका राइट्स बिक्री भएको छ।

फिल्मको राइट्स महंगो मूल्यमा नमस्ते इन्टरटेनमेन्ट अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राईको टोलीले खरिद गरेको हो। अमेरिका राइटको बिषयमा नमस्ते इन्टरटेनमेन्ट र ‘भागवत गीता’ का निर्माता सुनिल कुमार थापाबीच मंगलबार सम्झौता भयो । फिल्ममा झरनाकी छोरी सुहाना थापाको मुख्य भूमिका रहनेछ । फिल्मको लागि अभिनेता छनोट भए पनि केही समयपछि सार्वजनिक गरिने बताइएको छ ।

केही दिनअघि जनकपुर पुगेर निर्माण टोलीले टिजरसमेत छायांकन गरिसकेका छन् । उक्त टिजरमा सुहानालाई मात्र समावेश गरिएको छ । यो फिल्मको छायांकन श्रावणको अन्तिम साताबाट सुरु हुनेछ । हाल फिल्मको स्कृप्ट लेखन र प्रि(प्रोडक्सन काम धमाधम भइरहेको निर्देशक थापाले बताइन्।

यो फिल्मसँगै वैशाख १ गतेबाट प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ को पनि अमेरिका राइट्स बिक्री भएको छ। फिल्म प्रदर्शनको लागि झरना थापा, सुनिलकुमार थापा र सुहाना थापा अमेरिका पुगेका छन् । झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतको मुख्य भूमिका छ फिल्म अहिले प्रि–प्रोडक्सनमा रहेको छ । फिल्मको निर्माण अगाडी नै अमेरिका राइट्स बिक्रि भएकोमा आफु उत्साहित भएको निर्माता थापाले बताए ।