२०८० चैत्र १६ , शुक्रवार

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ।

 

मर्जर सम्झौतापछि यी तीनै कम्पनीले नेप्सेलाई आफ्नो कम्पनीको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका थिए। सोही आग्रहबमोजिम नेप्सेको आज (जेठ ३ गते)को निर्णयबमोजिम यी तीनै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। यी तीन कम्पनीबीच गत वैशाख २९ गते आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो।

 

बीमा समितिले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। समितिले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउन समयसीमा दिएको छ।सोही पुँजीवृद्धिको योजनाअन्तर्गत युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स आपसमा मर्ज हुन लागेका हुन्।