२०८० चैत्र १५ , बिहिवार

नेपालमा मूल्य बढेको दुई दिन नबित्दै आईओसीले पठायो पेट्रोलको नयाँ मूल्य सूची

सुनाखरी न्युज/ काठमाडौं ।भारतीय आयल निगम(आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढ अनुसारको नयाँ मूल्य सूची पठाउने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालले खरिद गर्ने प्रशोधित तेलको मूल्य समेत बढेको निगमले जनाएको छ । आईओसीले सोमबार पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर नयाँ मूल्यसूची आएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले मट्टितेल र एलपीजी ग्याँसको मूल्य भने अहिलेको मूल्य सूचीमा नबढेको उनले बताए । नेपाल आयल निगमले स्थानीय चुनाव लगत्तै मात्र पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेर पेट्रोल १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पु¥याएको थियो।

बढेको मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा पनि १५ दिनमा झन्डै सवा ४ अर्ब रुपैयाँ घाटा रहेको निगमले बताउँदै आएको छ । अहिलेको नयाँ मूल्यमा बेच्नमा पनि पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा ३१ रुपैयाँ, मट्टितेलमा १२, हवाई इन्धनमा १२ रुपैयाँ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा रहेको बताउँदै आएको छ । नयाँ मूल्य सूची अनुसार निगमको घाटा पुनः बढ्ने देखिएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रय बजारमा इन्धनको मूल्य उच्च दरले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ११ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

 

कोभिड संक्रमण बढ्दै गएर लकडाउन भएको बेला कच्चा तेलको मूल्य प्रति ब्यारेल २५ डलरभन्दा पनि तल झरेको थियो भने कोभिडको असर कम हुँदै गएर आर्थिक क्रियाकलाप बढ्दै गएपछि र रसिया युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य आकाशिन थालेको हो । नेपालमै पनि चालु वर्षको शुरुमा १ सय रुपैयाँ हाराहारीमा रहेको पेट्रोलको मूल्य अहिले बढेर १ सय ७० रुपैयाँ पुगिसकेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि अनुसार निगमले मूल्य वृद्धि नगर्दा अहिले निगम झन्डै ३५ अर्ब भन्दा बढी नोक्सानीमा रहेको छ । छोटो समयमै सञ्चित नाफामा रहेको कम्पनीले अहिले भारतीय आयल निगमलाई भुक्तानी दिनको लागि ऋण लिनुपर्ने अवस्थामा आइपुगेको छ । निगमले ऋणको प्रक्रिया अगाडि बढाउन सरकार गुहारिरहेको छ भने सरकारकै स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट ऋणको प्रक्रिया अगाडि बढेको निगमका एक अधिकारीले मेरो लगानीलाई बताए । वाणिज्य बैंकबाट ऋण स्वीकृत भने भएको छैन ।

 

निगमले पछिल्लो समय आफ्नो सञ्चितिमा रहेको सबै रकम भारतलाई भुक्तानी गरेर नपुगेर मूल्य स्थिरिकरण कोषमा रहेको झन्डै ११ अर्ब रुपैयाँ समेत खर्च गरिसकेको छ । पछिल्लो समय निगमले पाक्षिक रुपमा आइओसीलाई गर्नुपर्ने भुक्तानी पेट्रोलियम पदार्थको बिक्रीबाट जति रकम जम्मा भयो, त्यति नै मात्रामा गर्दै आएको निगमका एक अधिकारीले बताए । पेट्रोलियम पदार्थमा धान्नै नसक्ने मूल्यवृद्धि भएपछि सरकारले बजेटमार्फत निगमले परल मूल्यमै बेच्ने जनाएको छ । परल मूल्यमै बेच्दा ग्याँसको मूल्य २६ सय ५० रुपैयाँ, पेट्रोल र डिजेलको मूल्य १८५ रुपैयाँ बराबर हुनेछ ।