२०८१ बैशाख ८ , शनिवार

आयकरको सीमा ४ लाख ५० हजारबाट बढाउन सुझाव

सुनाखरी न्युज/ काठमाडौं । राजश्व परामर्श समितिले व्यक्तिगत आयकरको सीमा बढाउन सुझाव दिएको छ । समितिले आगामी बजेट २०७९/८० का लागि राजश्व प्रतिवेदन पेश गर्दै आयात निरुत्साहन र स्वदेशी उद्योग संरक्षणका लागि पनि जोड दिएको छ ।

समितिका अध्यक्ष महेश दाहालले आज अर्थमन्त्री जनार्दन शर्मासमक्ष उक्त प्रतिवेदन बुझाउनुभएको हो । समितिले करको दायरा विस्तार, आन्तरिक राजस्व वृद्धि गर्ने उपाय, आयात निरुत्साहनका लागि दिइने सुझाव लगायत विषय समेटेको छ । समितिले यो पटक व्यक्तिगत आयकरको सीमा बढाउन सुझाव दिएको हो । अहिले व्यक्तिको हकमा ४ लाख र दम्पत्तीको हकमा ४ लाख ५० हजारसम्मको वार्षिक आयमा आयकर छुट हुँदै आएको छ । यो सम्मको आयमा एक प्रतिशत सामाजिक सुरक्षा कर मात्र लाग्छ ।

 

यसभन्दा माथि चरणबद्ध रूपमा कर लाग्दै जान्छ । समितिले यो सीमा बढाउन सुझाएको हो । एक व्यक्ति र परिवारको आधारभूत आवश्यकता कम्तिमा दुईवटा सन्तानसम्मको शिक्षा, स्वास्थ्य, आवास लगायत खर्च धान्न हालको सीमाले नपुग्ने भन्दै समितिले सीमा बढाउन सुझाएको हो । आयात प्रतिस्थापनको लागि स्वदेशि उद्योग संरक्षण गर्नुपर्ने भन्दै आयातमा निर्भर राजस्वलाई विस्तारै आन्तरिक राजस्वमा निर्भर गराउन चाल्नुपर्ने कदमका लागि समितिले उपाय सुझाएको छ ।