२०८० चैत्र १६ , शुक्रवार

एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना

सुनाखरी न्युज/  महेन्द्रनगर । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

 

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन । हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।