२०८० चैत्र १५ , बिहिवार

स्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय

सुनाखरी न्युज/ काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ ।

 

स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ । तीमध्ये प्रदेश नं. १ को ३, मधेस प्रदेशको २, बागमती प्रदेशको ५, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशका ५ मतदान केन्द्रमा नयाँ मिति तय भएको हो । निर्वाचन आयोगका अनुसार आज निर्वाचन हुने मतदानस्थलमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकाको जनता माविको २ केन्द्र, कालीकोटको रास्कोट गाउँपालिकाको जनता माविको १, कालीकोटकै पचालभरना गाउँपालिकाको जनता माविको १, बझाङको जयपृथ्वी नगरपालिका, सुनीपिपल चौर माविको २ मतदान केन्द्र रहेको छ ।

 

भोली जेठ २ गते निर्वाचन हुने मतदानस्थलमा धनकुटाको शहीदभूमि गाउँपालिकाको ठाकुरदेवी माविको ३ केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको ३ केन्द्र, बझाङको केदारस्युँ गाउँपालिकाको जगन्नाथ माविका २ केन्द्र, बझाडको सुर्मा गाउँपालिकाको कृष्ण प्राविको १ केन्द्र र सोही पालिकाको आधाबगर माविको २ केन्द्र रहेका छन् । जेठ ३ गते निर्वाचन हुने मतदानस्थलमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको श्रीराम माविको २ मतदान केन्द्र रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

 

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशबाहेकका छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ मतदान केन्द्रमा मतदान स्थगन भएको जनाएको छ । पुनः निर्वाचनको मिति तय गर्नुपूर्व स्थगन हुने कारण विश्लेषण, निर्वाचन सामग्रीको भण्डारण, सुरक्षा स्थितिको आँकलन गर्न निर्देशन दिएको छ ।