२०८१ बैशाख ८ , शनिवार

आगामी आर्थिक वर्षको लागि साढे १६ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी, यस्ता छन् प्राथमिकताका कार्यक्रम !

सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १६ खर्ब ५० अर्ब रुपैयाँको बजेट सिलिङ बनाएको छ। आगामी आवमा सरकारले चालु आवको भन्दा केही ठूलो आकारको बजेट ल्याउने तयारी गरेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

चालु आवका लागि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। देउवा नेतृत्वको नयाँ सरकार बनेपछि प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट घटाएर १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बनाएका थिए।

 

आगामी आवको बजेटमा कृषि, पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखिने अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले बताए। उनले भने, ‘अहिले बजेटको बृहत् तयारी भइरहेको छ। अर्थ मन्त्रालयले एउटा प्रारम्भिक मस्यौदा बनाएर काम गरिरहेको छ।’

सरकारले अनिवार्य दायित्वको विषयलाई प्राथमिकतामा राखेर बजेट बनाउँछ। यसैगरी क्रमागत आयोजना र वैदेशिक सहयोगका आयोजनालाई पनि छुटाउन नमिल्ने निरौलाले बताए। यसैगरी, सरकारले प्राथमिकताको विषयलाई सीमित स्रोत साधनबाट कसरी अगाडि बढाउन सकिन्छ, त्योअनुसार बजेटको प्राथमिकतमा विभिन्न क्षेत्रहरू समेटिने उनको भनाइ छ।

अहिले देशको अर्थतन्त्र उत्पादनमुखी बनाउन कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने व्यवस्था गरिएको मन्त्रालयका एक अधिकारीले बताए। अहिले देशमा देखिएको अर्थतन्त्रको समस्या कम गर्न र आत्मनिर्भर बनाउन उत्पादनशील क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने आवश्यकता रहेको ती अधिकारीले बताए।

 

बजेटले पूर्वाधार क्षेत्रलाई पनि प्राथमिकतामा राख्ने उनको बुझाइ छ। त्यसैगरी, बजेटले पूर्वाधारअन्तर्गत विद्युत उत्पादनलगायत क्षेत्रमा लगानी बढाउने पनि उनको भनाइ छ।

जेठ ७ गते नीति तथा कार्यक्रम
सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद्को अधिवेशन आह्वान गरेकी छिन्। संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। त्यसका लागि सरकारले आगामी जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।