२०८१ बैशाख १३ , बिहिवार

मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला !

सुनाखरी न्युज/ काठमाडौं ।

स्थानीय तह निर्वाचनका लागि देशैभर हजारौंको संख्यामा कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । ७५२ स्थानीय तहको नेतृत्व चुन्न शुक्रबार एकैपटक हुन लागेको निर्वाचनमा मुलुकभर यस्ता मतदान केन्द्र पनि छन्, जहाँ खटाइएका कर्मचारी र सुरक्षाकर्मी सबै महिला छन् ।

 

गोरखा नगरपालिका–६ छहरेको बालमन्दिर माविमा रहेको मतदान केन्द्र महिलाले मात्र सम्हालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना यो केन्द्रको मतदान अधिकृत छिन् । यस्तो कदमले समाजमा सकारात्मक सन्देश जाने उनले बताइन् ।

पाँचथरको फिदिम नगरपालिका–४ स्थित सुखबोध मतदान केन्द्रमा पनि  निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । करिब १२ सय मतदाता रहेको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीसँगै सुरक्षाको अभिभारा पनि महिलाको काँधमा छ । यो केन्द्रमा नगर शिक्षा शाखा प्रमुख निर्मला दाहालको नेतृत्वमा ५ जना महिला कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजन सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचन सुरक्षार्थ खटिएका सबै ५ जना सुरक्षाकर्मी पनि महिला नै हुन् ।

 

तेह्रथुमको म्याङलुङ नगरपालिका–२ स्थित सिंहवाहिनी मावि ‘ख’ केन्द्रमा पनि कर्मचारी र सुरक्षाकर्मी सबै महिला नै रहेको मुख्य निर्वाचन अधिकृत महेन्द्रप्रसाद पोखरेलले जानकारी दिए । १ हजार ४ सय ५९ मतदाता रहेको यो केन्द्र म्याङलुङ बजार क्षेत्रमै पर्छ । जिल्लाकै नमुना घोषणा गरिएको केन्द्रमा सीता खनालको नेतृत्वमा ७ महिला कर्मचारी परिचालन गरिएको छ । उनीहरूलाई सघाउन ४ जना महिला स्वयंसेवक पनि छन् । सुरक्षार्थ तैनाथ ७ सुरक्षाकर्मी पनि महिला नै हुन् ।