२०८१ बैशाख ६ , बिहिवार

कञ्चनपुरमा निर्वाचनको तयारी पूरा

 

सुनाखरी न्युज / जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृतसहितका कर्मचारी मतदान केन्द्रमा पुगि मतदानस्थलको तयारी सम्पन्न गरिसकेको बताइएको छ । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएर निर्वाचन अधिकृतलगायत कर्मचारी तीन सय ४१ मतदान केन्द्रमा मतपत्र र मत पेटिकालगायतका निर्वाचन सामग्रीसहित पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा अधिकृतसहितका कर्मचारी पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइ सकिएको जानकारी दिए ।

 

“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन्”, उनले भने, “निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।” उनका अनुसार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनी निवेदन दिएकालाई परिचयपत्र वितरणको कार्य भइरहेको छ ।

तीन सय मिटरको क्षेत्रलाई मतदान केन्द्र तोक्ने, प्रचारप्रसार वा शान्ति भङ्ग गर्न निषेध गरेको सूचना प्रकाश गर्ने, मादक पदार्थ निषेध गर्ने, मतदान केन्द्र निर्माण गर्ने कार्य भइरहेका छन् । कार्य विभाजन गर्ने र निर्वाचन प्रतिनिधिको नियुक्ति गर्नेलगायतका कार्यसमेत अगाडि बढाइएको छ ।

जिल्लामा रहेको नौवटा पालिका रहेको कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । जसमध्ये महिला मतदाता एक लाख ५२ हजार ११२ र पुरुष मतदाता एक लाख ४३ हजार २४१ रहेका छन् । हरेक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका छन् ।

जिल्लाभरिका मतदान केन्द्रमा एक हजार ७०५ कर्मचारी खटिसकेका छन् । १३२ निर्वाचनस्थलमा ३४१ मतदान केन्द्र रहेका छन् । निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था पूरा भइसकेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । प्रजिअ पाण्डेका अनुसार निर्वाचन सुरक्षाका लागि कञ्चनपुरमा झण्डै तीन हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालनको व्यवस्था गरिएको छ ।

यसैगरी प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए। भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न गराउन भरपर्दोरुपमा सुरक्षाकर्मीलाई खटाइएको उनले बताए । उनका अनुसार म्यादी प्रहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्वाचनको सुरक्षाका लागि खटाइएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगसित समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाउनका लागि कार्य गरेको उहाँको भनाइ रहेको छ ।
रासस